काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएकाे छ ।
बिहान ११ बजे बस्ने लुम्बिनी प्रदेश सभा बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दलकाे समर्थनमा चाैधरी वैशाख १४ लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । वैशाख १५ गते उहाँले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे थियाे ।
वैशाख १४ गते बसेकाे प्रदेश सभा बैठकमा विश्वासकाे मत पाउन नसकेपछि नेकपा एमालेका लीलानाथ गिरीको नेतृत्वमा सरकार ढलेकाे थियाे । सत्ता साझेदार माओवादी केन्द्र, जनमुक्ति पार्टी लगायतले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले दाेस्राे पटक विश्वासकाे मत लिनुभएकाे थियाे । तर उहाँले विश्वासकाे मत पाउन सक्नुभएन ।
त्यसपछि चाैधरीकाे नेतृत्वमा गठबन्धन सरकार बनेकाे हाे । शपथ लिएकै दिन चाैधरीले माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई बिनाविभागीय मन्त्री नियुक्त गर्नुभएकाे थियाे ।
