काठमाडाैं । लुम्बिनी प्रदेश सभाको चालु (हिउँदे) अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेश सरकार मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ ।
मंगलबार दिउँसाे बसेकाे लुम्बिनी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिनुभएको थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दलकाे समर्थनमा चाैधरी वैशाख १४ लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । वैशाख १५ गते उहाँले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे थियाे ।
वैशाख १४ गते बसेकाे प्रदेश सभा बैठकमा विश्वासकाे मत पाउन नसकेपछि लीला गिरी नेतृत्वकाे नेकपा एमालेकाे सरकार ढलेकाे थियाे । सत्ता साझेदार माओवादी केन्द्र, जनमुक्ति पार्टी लगायतले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले प्रदेश सभामा दाेस्राे पटक विश्वासकाे मत लिनुभएकाे थियाे । तर उहाँले विश्वासकाे मत पाउन सक्नुभएन ।
त्यसपछि चाैधरीकाे नेतृत्वमा गठबन्धन सरकार बनेकाे हाे । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेशमा पनि त्यसकाे असर परेकाे हाे ।
