काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नु भएको छ ।
सभामुख देवराज घिमिरेले सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको सूचना संसद् सचिवालयले जारी गरेको छ । संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गर्नुभएको सूचना अनुसार कोइरी प्रहरीको फरार अभियुक्तको सूचिमा रहनुभएको जानकारी आएकोले उहाँलाई प्रतिनिधि समा सदस्य पदबाट निलम्बन गरिएको हो ।
प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी विरुद्धको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु भनी मिति २०७७ मङ्सिर १९ गते आदेश भएकोमा कोइरी थुनामा नबसी तारेख गुजारी फरार रहेको र महोत्तरी जिल्ला अदालत जलेश्वरमा हालसम्म पनि हाजिर हुन नआई फरार नै रहेको भन्ने ब्यहोराको जानकारी नेपाल प्रहरी प्रधान कार्यालयबाट आएको सूचनामा उल्लेख छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्था बमोजिम कोइरी निलम्बन हुनु भएको निर्णय सभामुखले मंगलबार गर्नुभएको सूचनामा उल्लेख छ ।
मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ मा प्रदर्शनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको ज्यान गएको थियो । उहाँलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो । उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जना विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा चलिरहेको छ ।
जिल्ला अदालतको ०७६ असोज २ को आदेशले कोइरी धरौटीमा छुट्नु भएको थियो । तर उच्च अदालत जनकपुरले २०७७ मङ्सिर १९ मा जिल्ला अदालतको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि कोइरी फरार हुनुहुन्छ । उहाँ फरार रहेकै अवस्थामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
