काठमाडाैं । सभामुख देवराज घिमिरेले ३ दिनभित्र संसदीय सुनुवाइसहित संघीय संसदको संयुक्त समिति गठनका लागि तीन दिनभित्र नाम दिन दलहरुलाई निर्देशन दिनुभएकाे छ ।
आइतबार बिहान बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेलेसुनुवाइ समितिसहित संयुक्त समिति गठनका लागि तीन दिनभित्र सांसद्काे नाम दिन दलहरुलाई निर्देशन दिनुभएकाे हाे ।
संघीय संसदमा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गरी दुईवटा संयुक्त समिति छन् ।
ती समिति गठनका लागि नाम दिन सभामुख घिमिरेले निर्देशन दिनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । 'संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ, समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऔं'- सभामुख घिमिरेकाे भनाइ छ ।
प्रतिनिधि सभाको पहिलो अधिवेशनले संसदीय विषयगत समिति गठन गरे पनि संयुक्त समिति भने गठन गर्न सकेको थिएन । बजेट अधिवेशन सुरु हुने दिन नै सभामुखले संयुक्त समिति गठनका लागि पहल थाल्नुभएकाे हाे ।
