काठमाडाैं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न-उत्तर गरिने भएको छ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डसँग प्रश्न-उत्तर गर्ने समझदारी भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डसँग प्रश्न-उत्तर गर्ने जानकारी गराउनुभएकाे हाे ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ र मुख्य सचेतकहरूसँग छलफल गरी मिति तय गरिने उहाँले बताउनुभयाे । सभामुख घिमिरे भन्नुभयाे - 'नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुन्छ, कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण हुन्छ, सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ, प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानुन मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।'
कार्यव्यवस्था समितिको बैठकमा नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिन आएको दिनबाहेक अरू दिन संसद् उपस्थित नभएको बताउनुभएकाे थियाे ।
प्रतिनिधि सभा बैठकमा सांसद्हरुकाे डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज छलफल भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयाे । संसद् सरकार बनाउने थलाेजस्ताे मात्र भएकाे भन्दै उहाँले सदनमा सांसद्काे उपस्थिति कमजाेर भएकाे उहाँले बताउनुभयाे । सभामुख घिमिरेले भन्नुभयाे - 'संसद्मा माननीयहरुको उपस्थिति कमजोर भएको छ, सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ, दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु, संसद् सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।'
