काठमाडौं । कार्यव्यवस्था परामर्श समिति बैठकमा सदनमा सांसद्हरुले ई-हाजिरी लागू गरेर जानुपर्ने विषयमा छलफल भएकाे छ ।
आइतबार बिहान बसेकाे कार्यव्यवस्था परामर्श समिति बैठकमा सांसद्हरुको ई-हाजिरीको व्यवस्था गर्नुपर्ने विषयमा छलफल भएकाे सभामुख देवराज घिमिरेकाे सचिवालयले जनाएकाे छ । ई-हाजिरी सुरु गर्ने र प्रतिनिधि सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे बैठकमा छलफल भएकाे हाे ।
बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा बैठकमा सांसद्हरुको उपस्थिति कमजोर भएको विषयमा ध्यानाकर्षण गराउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । सभामुख घिमिरेले भन्नुभयाे - 'संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ, सांसद् तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ, दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँछु ।'
संसद् सचिवालयलाई ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न पनि सभामुख घिमिरेले निर्देशन दिनुभयाे । बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारे छलफल भएको थियाे ।
बैठकपछि नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएकाे बताउनुभयाे । सांसद्हरु हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएकाले इलेक्ट्रिक हाजिरीको व्यवस्थाबारे बैठकमा छलफल भएको उहाँले बताउनुभयाे । बैठकमा महिनाको एक पटक प्रधानमन्त्रीले संसद्मा जवाफ दिने विषयमा पनि छलफल भएकाे खतिवडाले जानकारी दिनुभयाे ।
सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जानेबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयाे ।
संघीय संसद्काे बर्खे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दुवै सदनको संयुक्त बैठक अपरान्ह ४ बजे बस्दैछ ।
