काठमाडौं । नेमकिपाका सांसद् प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणदेखि अहिलेसम्मका सबै भ्रष्टाचार काण्डकाे छानबिन गर्न माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बोल्दै सांसद् सुवालले शरणार्थी प्रकरणदेखि वाइडबडीदेखि सबै भ्रष्टाचार काण्डकाे छानबिन गर्न माग गर्नुभयाे ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुनः विश्वासको मत लिनुपर्ने बताउनुभयाे । 'सरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था छ। तसर्थ प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ'- सुवालले भन्नुभयाे ।
सांसद् अमरेशकुमार सिंहले सबै भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गर्नुभयाे । सुडान घाेटालामा पनि केहीलाई कारबाही गरेर दलहरुलाई उम्क्याइएकाे भन्दै उहाँले दलहरुमा बाँडीचुडी खाने प्रवृत्ति देखिएकाे बताउनुभयाे ।
