काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि अहिलेसम्मका सम्पूर्ण भ्रष्टाचार काण्डबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई चुनाैती दिएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे बैठककाे आकस्मिक समयमा बाेल्दै एमाले प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थीको विषयमा गत भदौमा राष्ट्रिय सभामा एमाले सांसद् पार्वती रावलले उठाएको विषय सरकारले नसुनेको बताउनुभयाे । याे विषय नयाँ नभएकाे भन्दै उहाँले निष्पक्ष छानबिन गरेर यसमा मुछिएका सबैलाई कारबाहीकाे दायरामा ल्याउन सरकारसँग माग गर्नुभयाे ।
शरणार्थी काण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले याे ट्रेलर मात्र भएकाे र फिल्म देखाउन बाँकी रहेकाे बताउनुभएकाे भन्दै प्रमुख सचेतक गिरीले आफूहरु पूरै फिल्म हेर्न आतुर रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्री ज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउँन बाँकी नै भन्दै हिँड्नुभएको छ, सम्माननीय प्रधानमन्त्री ज्यू, हामी फिल्म हेर्न आतुर छौँ, हामी तपाइँले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौं, फिल्म देखाउनुस् ।'
शरणार्थी प्रकरण मात्र नभएर अहिलेसम्म भएका सबै भ्रष्टाचारबारे छलफल गरी दाेषीलाई कारबाही गर्ने हिम्मत राख्न प्रमुख सचेतक गिरीले प्रधानमन्त्री प्रचण्डलाई चुनाैती दिनुभयाे । उहाँले भन्नुभयाे - 'हामीलाई अब विश्वास छ, वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविरका घोटला काण्डमा राज्यकाे अरबाैं रुपैयाँ सम्पत्ति लुटिएको थियो त्यसकाे छानिबन गराैं, बजेट निर्माणमा सिसीटिभी फुटेज र बजेटमा बिचौलिया आएका काण्डहरु यो अधिवेशनमा अब गम्भीरतासाथ छलफल गरौं, यस्ता काण्डमा परेकाहरूलाई एक-एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ, यसमा हाम्राे साथ र सहयाेग रहनेछ ।' शरणार्थी प्रकरणमा अभियुक्तले १३ गते दिएकाे बयान लुकाउन खाेजिएकाे भन्दै उहाँले सत्तापक्षकै भएका कारण दाेषीलाई उम्क्याउने काेशिस नगर्न चेतावनी दिनुभयाे ।
एमाले सचेतक महेश बर्ताैलाले शरणार्थी प्रकरणमा जाेडिएका सबै व्यक्तिलाई छानबिनकाे दायरामा ल्याउन माग गर्नुभयाे । फरक दलकै भएका कारण अरुलाई फसाउने र सत्तापक्षकाे भए जाेगाउने नियत सरकारले देखाएकाे भन्दै उहाँले निष्पक्ष छानबिन गर्न माग गर्नुभयाे ।शरणार्थी प्रकरणमा मुछिएकाहरुले दिएकाे बयानमा सत्ता पक्षका नेता पनि संलग्न भएकाे कुरा आएकाे र रेकर्डहरु पनि सार्वजनिक भएकाे भन्दै सचेतक बर्ताैलाले दाेषीलाई उम्क्याएर निर्दाेषलाई फसाउन खाेजिए एमालेलाई सह्य नहुने बताउनुभयाे । सत्यतथ्य के हाे पारदर्शी रुपमा छानबिन गर्न पनि सचेतक बर्ताैतालले माग गर्नुभयाे । प्रधानमन्त्रीकाे अभिव्यक्तिले सत्ता पक्षका व्यक्तिलाई उन्मुक्ति दिने र अरुलाई फसाउने नियत त हाेइन भन्ने आशंका उत्पन्न भएकाे बताउनुभयाे ।
एमालेकै सांसद् सूर्य थापाले दाेषीलाई उम्क्याउने काेशिस नगर्न र निर्दाेषलाई फसाउने काम नगर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । प्रधानमन्त्री प्रचण्डले शरणार्थी प्रकरणमा दबाब आएकाे बताउनुभएकेा भन्दै उहाँले त्यसबारे सदनलाई जानकारी गराउन माग गर्नुभयाे ।
लडाकु शिविरका घोटला काण्डदेखि विभिन्न काण्डकाे फिल्म हेर्न आतुर भएकाे भन्दै उहाँले यी सबै काण्डका दाेषीलाई कारबाहीकाे दायरामा ल्याउन प्रधानमन्त्री प्रचण्डलाई चुनाैती दिनुभयाे । उहाँले भन्नुभयाे - 'लडाकु शिविरका घोटला काण्ड, कमानसिंह लामा प्रकरणमा म फिल्म हेर्न चाहान्छु, म टिकट काटेर आएकाे छु, मलाई फिल्म देखाउनुस् ।'
एमालेकै सांसद् रघुजी पन्तले एमाले छापा मार्ने पार्टी नभएकाे प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे - 'हामी सत्यतथ्यकाे पक्षमा छाैं, छापा मारेर कसकसका सम्पत्ति कति लुटियाे, छापा मार्नेले जान्लान्, नेकपा एमाले छापामारीमा विश्वास गर्दैन, एमाले संसद्मा, संसदीय अभ्यासमा, कानुनमा विश्वास गर्छ ।'
