काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलकाे नेताबीच भेटघाट हुनु स्वभाविक भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न बाेलाएर नै आफू गएकाे बताउनुभयाे । प्रधानमन्त्रीले संसद्, विधेयक, समिति गठन लगायत समसामयिक विषयमा कुरा गर्न आफूलाई बाेलाउनुभएकाे र प्रसंगबस नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि कुरा भएकाे उहाँले प्रष्ट पार्नुभयाे ।
अध्यक्ष ओलीले शरणार्थी प्रकरणबारे कडाइसाथ अनुसन्धान गर्न र कारबाही गर्न माग राखेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रसंगबस गैरशरणार्थीलाई शरणार्थी बनाएर पठाउने गिराेहकाे सम्बन्धमा पनि कुरा भयाे, मैले जुन दोषी छन् उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गर्नुस्, सरकारले कारबाही गरोस् भनेँ, प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने, यस्ताे-उस्ताे नगरोस्, निष्पक्ष ढंगले जो दोषी छन् तिनीहरूलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने खालको प्रयास नगरोस् भनेँ ।'
आफैं भेट्न बाेलाउने अनि सञ्चारकर्मीसँग दबाबमा पर्दिन भनेर भन्ने झुट प्रधानमन्त्रीले बाेल्न नसक्ने पनि अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'उहाँले दबाबमा परेँ भन्नुभएजस्ताे मलाई लाग्दैन, किनकी प्रधानमन्त्रीले त्यस्ताे झुट बाेल्न सक्नुहुन्न हाेला ।'
पार्टी सचिव टाेपबहादुर रायमाझीमाथि सरकार प्रहरी र अनुसन्धानविद्ले अनुसन्धान गर्ने भन्दै अध्यक्ष ओलीले आफूहरु सरकारकाे अनुसन्धानमा मुख्य रुपमा भर पर्ने बताउनुभयाे । जसले गरेपनि भ्रष्टाचार आफूहरुलाई सह्य नहुने प्रष्ट पार्दै उहाँले भन्नुभयाे - 'अरु कुरा प्रष्ट हुँदै जालान्, हामी भ्रष्टाचार कसैले गराेस् कुनै रुपमा गराेस् त्यसलाई सहँदैनाैं ।'
अध्यक्ष ओलीले पार्टी सचिव टोपबहादुर रायमाझी आफूहरूको सम्पर्कमा नभएको बताउनुभयाे । तपाइँकाे सम्पर्कमा हुनुहुन्छ हाेला भन्ने सञ्चारकर्मीकाे प्रश्नमा उहाँले भन्नुभयाे - 'हाम्रो सम्पर्कमा भएको भए सरकारको सम्पर्कमा पनि भइहाल्नुहुन्थ्यो होला नि ।'
बालकोटमा हुनुहुन्छ भन्ने समाचार आइरहेकाे छ नि भन्ने सञ्चारकर्मीकाे अर्काे प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयाे - 'जसले भन्याे उसैकाे घरमा हुनुहुन्छ ।'
