काठमाडौं । सदनमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ ।
प्रि-बजेटमाथि छलफल गर्न प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकमा आज वैशाख २५ गतेदेखि २७ गतेसम्म प्रि-बजेट छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
वैशाख २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनुहुने कार्यक्रम तय भएको छ । संघीय संसद्काे बजेट अधिवेशन आइतबारदेखि सुरु भएकाे हाे । आइतबार संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक बसेकाे थियाे ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । साेही प्रस्तावमा आजदेखि छलफल हुन लागेकाे हाे ।
संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । हरेक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
