काठमाडाैं । नेकपा एमालेका सांसद् विष्णु प्रसाद पाैडेलले नेपाली अर्थतन्त्र आर्थिक मन्दीमा गइसकेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथि छलफलमा भाग लिँदै सांसद् पाैडेलले देशकाे अर्थतन्त्र मन्दीमा गइसक्दा पनि सरकार गम्भीर नभएकाे बताउनुभयाे ।
देशक आर्थिक मन्दीमा गइसक्दा पनि सरकार भने अर्थतन्त्रको चुनौतीप्रति बेखबर देखिएको बताउँदै उहाँले भन्नुभयाे - 'विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा अर्थतन्त्रका चुनौतीप्रति सरकार बेखबर रहेको पाएँ, चुनौती कहाँ छ, समस्या कहाँ छ भन्ने विषयमा सरकार बेखबर छ ।'
देशकाे अर्थतन्त्र ध्वस्त भएकाे र मन्दीमा गएकाेबारे जनतालाई सत्यतथ्य बताउन समेत सांसद् पाैडेलले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।देशकाे अर्थतन्त्र मन्दीमा गइसकेकाे कुरा सरकारकै निकायकाे तथ्यांकले पुष्टि गरिसकेकाे उहाँले बताउनुभयाे । सांसद् पाैडेलले भन्नुभयाे - 'नेपाली अर्थतन्त्र यतिबेला मन्दीकाे अवस्थामा छ, याे राष्ट्रिय तथ्यांक कार्यालयले गत हप्ताकाे तथ्यांकले बाेलेकाे विषय हाे, देशकाे अर्थतन्त्र मन्दीमा गएकाे छ, कुरा हामी ढाक्छाैं कि, मन्दीमा गएकाे छ भन्ने तथ्य स्वीकार गर्छाैं कि, यसलाई याे भन्दा अरु बिग्रन नदिएर लयमा फर्काउने अर्थतन्त्रलाई चलायमान बनाउने संकल्पकासाथ हामी अगाडि बढ्छाैं, याे दाेबाटाेमा हामी छाैं ।'
नेपाली अर्थतन्त्र मन्दीमा गएकाे छ भन्ने तथ्यलाई स्वीकार गर्दै त्यसले सृजना गरेकाे चुनाैतीलाई सामना गर्ने अठाेटसाथ बजेट प्रस्तुत हुनुपर्ने र सिंगाे सदन प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयाे ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहनुभएका सांसद् पाैडेललले मुलुक आर्थिक मन्दीमा गएकाे कुरालाई बजेटका सिद्धान्त तथा प्राथमिकताले नदेखेकाे बताउनुभयाे । सरकारले अर्थतन्त्रका चुनाैती देख्न नसकेकाे भन्दै उहाँले यी चुनाैतीलाई नदेखेपछि तीनकाे समाधान हुनै नसक्ने बताउनुभयाे ।
अघिल्लाे आर्थिक वर्षकाे त्रैमासिककाे तुलनामा यस आर्थिक वर्षकाे दाेस्राे त्रैमासिककाे कुल ग्राहस्थ उत्पादन ० दशलमव ७३ प्रतिशतले ऋणात्मक रहेकाे सांसद् पाैडेलले बताउनुभयाे । यसले पनि मुलुक आर्थिक मन्दीमा गएकाे छ भन्ने कुराकाे पुष्टि गर्ने भन्दै उहाँले याे त्यसकाे जबरजस्त प्रमाण भएकाे बताउनुभयाे ।
मुलुक आर्थिक मन्दीमा गएकाे कुरालाई बजेटका सिद्धान्त तथा प्राथमिकतामा नसमेटिएकाे भन्दै उहाँले जनतालाई सच्याइ बताउन सरकारलाई सुझाउनुभयाे । सांसद् पाैडेलले भन्नुभयाे - 'याे सञ्चाइ जस्ताकाे तस्तै भनिदियाे भने जनतामा त्रास पैदा हुन्छ भनेर सच्चाइलाई लुकाउन खाेजिएकाे सुनिएकाे छ, सत्यलाई जस्ताकाे तस्तै समाज र सदनसमक्ष प्रस्तुत गर्नुपर्छ, यसाे गरिएभने जनताप्रतिकाे अविश्वास हुनेछ, तथ्यले सृजना गरेका चुनाैतीलाई सामना गरेर अगाडि बढ्नुपर्छ ।'
अर्थतन्त्रका परिसूचकहरु अनेक काेणमा गम्भीर रहेकाे उहाँले बताउनुभयाे । चालु आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दा आर्थिक वृद्धिदर ८ प्रतिशत हुने दाबी गरिएकाे भन्दै उहाँले राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेकाे पछिल्लाे प्रतिवेदनका अनुसार आर्थिक वृद्धिदर २ दलमलव १६ प्रतिशतमा खुम्चिने अनुमान गरेकाे बताउनुभयाे । कुल ग्राहस्थ उत्पादनकाे ६ दशमलव ४१ प्रतिशत मात्र बचन हुने गरेकाे भन्दै उहाँले जीडीपी ९३ दशमलव ५९ प्रतिशत कहाँनिर छ भन्ने बताउने सुनाउनुभयाे ।
राजश्व संकलन त कहालिलाग्दाे अवस्था रहेकाे बताउनुभयाे । लक्ष्यकाे तुलनामा ५० प्रतिशतमात्र परिचालन गर्न सकिएकाे भन्दै उहाँले यसले देशकाे अर्थतन्त्र कस्ताे छ भन्ने बताउनुभयाे । गत वर्ष भन्दा १३ प्रतिशतले राजश्व परिचालन कम भएकाे बताउनुभयाे ।
