काठमाडाैं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षकाे बजेटले अबकाे ५ वर्षकाे मार्गचित्र प्रस्तुत गर्न सक्नुपर्ने बताउनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिकाे छलफलमा बाेल्दै सांसद् कार्कीले बजेट उत्पादन र राेजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयाे उहाँले पपुलिष्ट नभएर यथार्थ बजेट अहिले आवश्यक रहेकाे बताउनुभयाे ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका सांसद् कार्कीले भौतिक पूर्वाधारका साथै उर्जा, कृषि र पर्यटन क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने बताउनुभयाे ।युवाहरुलाई देशमै भविष्य छ भन्ने कुरा देखाउनु आजकाे आवश्यकता भएकाे उहाँले बताउनुभयाे । लाखौं युवाहरु विदेश पलायन भइरहेको अवस्थामा सरकारले बजेटमार्फत त्यस्तो जनशक्ति स्वदेशमा नै रोक्नेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने सांसद् कार्कीले बताउनुभयाे ।
निजी क्षेत्र आज निराश अवस्थामा रहेकाले उसलाई उत्साहित गर्नेगरी बजेट ल्याउनुपर्ने उहाँले बताउनुभयाे । निजी क्षेत्रलाई रक्तसञ्चार गर्न नसके मुलुककाे अर्थतन्त्र गतिशील हुन नसक्ने बताउँदै सांसद् कार्कीले भन्नुभयाे - 'त्यसैले निजी क्षेत्रलाई उत्साहित गर्ने दिशामा अहिलेकाे बजेट केन्द्रित हुनुपर्छ ।'
जनताप्रति अविश्वास बढ्दै गइरहेका बेला बजेटले रक्तसञ्चार गर्न सक्नुपर्ने उहाँले बताउनुभयाे । गाउँका वस्तीहर रित्तिँदै गएका भन्दै सांसद् कार्कीले ती वस्तीलाई सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयाे । कर्णालीका जटिबुटीलाई प्रशाेधन गरेर विदेश बजारमा पुर्याउन सके देशकाे अर्थतन्त्र सबल हुने बताउनुभयाे ।
जनताकाे विकासकाे आकांक्षालाई पूरा गर्न सबै दल एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयाे । देशकाे अर्थतन्त्रमा समस्या रहेकाे भन्दै उहाँले पुँजीगत खर्चकाे अवस्था दयनीय रहेकाे बताउनुभयाे । देशलाई विकासकाे गतिमा अगाडि बढाउनुकाे विकल्प नभएकाे उहाँले बताउनुभयाे ।
