काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पाैडेलले देशकाे अर्थतन्त्र समस्यामा रहेकाे बताउनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिकाे छलफलमा बाेल्दै सांसद् पाैडेलले देशको आर्थिक अवस्थालाई लयमा ल्याउन सबैले साझा संकल्प गर्नुपर्ने बताउनुभयाे ।
देशकाे आर्थिक अवस्था सबैकाे साझा विषय भएकाे भन्दै उहाँले सबैले सकारात्मक उद्देश्य लिएर देशकाे अहिलेकाे आर्थिक प्रणालीकाे सुधार गर्न अगाडि बढ्नुपर्ने सबैकाे साझा कर्तव्य रहेकाे बताउनुभयाे । याे विषय पक्ष र प्रतिपक्ष भनेर विवाद गर्ने विषय नभएकाे बताउँदै सांसद् पाैडेलले भन्नुभयाे - 'देशकाे आर्थिक व्यवस्थालाई लयमा ल्याउन सबैले साझा संकल्प गराैं ।'
नेपालकाे अर्थ प्रणालीलाई कसरी सुधार गर्ने भन्ने विषयमा सबैले सामूहिक रुपमा साेच्नुपर्ने विशिष्ट स्थिति र अवस्था रहेकाे उहाँले बताउनुभयाे ।
देशकाे आर्थिक अवस्था कस्ताे छ भन्ने कुरालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले केही चित्र प्रस्तुत गर्नुभएकाे भन्दै सांसद् पाैडेलले त्यसमा सामूहिक निकास खाेज्नुपर्ने बताउनुभयाे । 'अर्थमन्त्रीज्यूले राजस्व संकलनमा कमी, ग्राहस्थ उत्पादनमा बढ्दो ब्याजदर, बैंकिङ क्षेत्रमा खराबी कर्जाकाे वृद्धि, व्यापार घाटा वृद्धि, पुँजीगत खर्चमा कमी, साधारण खर्चमा वृद्धि, बेरुजुमा बढाेत्तरी, भ्रष्टाचारमा बढाेत्तरी, आन्तरिक उत्पादनमा कमी जस्ता विषय प्रस्तुत गर्नुभएकाे छ, याे देशकाे अहिलेकाे अर्थप्रणालीकाे चित्र हाे, याे चित्र हेरेर एकलेअर्काेलाई आलाेचना गर्ने कि ? देशकाे याे विशिष्ट आर्थिक परिदृष्यबाट हामीले सामूहिक निकास खोज्ने ? याे नै आजकाे चुनाैती हाे' - उहाँले भन्नुभयाे ।
विनियाेजन विधेयक सिद्धान्तले सकारात्मक संकेत गरेकाे भन्दै सांसद् पाैडेलले त्यसकाे समर्थन गर्नुभयाे ।
