काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले देशको अहिलेको आर्थिक व्यवस्थाको चित्र हेरेर एकले अर्कालाई आलोचना गरेर बस्ने अवस्था नरहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले देशको आर्थिक संकट समाधानको लागि मिलेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । सरकारको विनियोजन विधेयकको प्राथमिकताले अहिलेको आर्थिक प्रणालीको अवस्थालाई सुधार गर्ने केही विषयलाई समेटेको पौडेलले बताउनुभयो ।
देशको आर्थिक अवस्था के र कसरी यस्तो भयो भन्ने विषय सबैलाई थाहा भएको उहाँले बताउनुभयो । यस विषयमा अहिले पक्ष प्रतिपक्ष भएर छलफल गर्ने बेला नरहेको उहाँले बताउनुभयो । ‘आर्थिक व्यवस्थालाई लयमा ल्याउनको निम्ति सबैले साझा संकल्प गरौँ’, उहाँले भन्नुभयो ।
अहिले संघीयता प्रति छासछुस विरोध भएको टिप्पणी गर्नुभयो । अब पछाडि फर्कने होइन समाजवादी बाटोमा अघि बढ्ने विषयमा संसद्मा छलफल हुनुपर्ने बताउनुभयो ।
देश बरबाद भयो भनेर नकारात्मक प्रचार गरियो भने देशमा युवालाई रोक्न नसकिने उहाँले बताउनुभयो । त्यसैले देशमा नै केही गर्न सकिन्छ भन्ने धारणा विकास गर्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले बजेटको सिलिङ घटाउने तर्फ नसोच्न पनि अर्थमन्त्रीलाई आग्रह गर्नुभयो । करको दायरा बढाएर र वैदेशिक सहयोग बढाउने तर्फ लागेर भए पनि बजेटको सिलिङ बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘संसार भिरका सम्भावना खोजौँ, नेपालमा भएका सम्झना पनि खोजौँ’, उहाँले भन्नुभयो ।
