काठमाडौं । प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सरकारले ल्याएको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त कर्मकाण्डी खालको भएको बताउनुभयो ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले गरिने छले भरिएको दस्ताबेजको रूपमा सरकारी दस्ताबेज आएको बताउनुभयो । देशको अर्थतन्त्र कता गइरहेको छ भन्ने प्रक्षेपण गर्ने क्षमता समेत सरकारसँग नभएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई लयमा ल्याउन सदाको जस्तो कर्मकाण्डी योजनाले के होला ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘बर्सेनि गरिने छ भनिने तर पुरा नगरिने बजेटले राज्य प्रति जनताको विश्वास कसरी बढाउँछ ?’, उहाँले भन्नुभयो ।
नेपालको अर्थतन्त्र सङ्गठित राजनीतिक भ्रष्टाचार र आफैँ भित्रको बेथितिले कमजोर भएको उहाँले बताउनुभयो । नेपालको अर्थतन्त्र कमजोर हुनु बाह्य कारण नभई आन्तरिक कारण नै भएको उहाँले दाबी गर्नुभयो । ‘बाह्य कारण देखाएर हामी उम्कन मिल्दैन’, उहाँले भन्नुभयो ।
उहाँले असाधारण अवस्था भएकोले साधारण खर्च व्यापक कटौती गर्न सुझाव दिनुभयो । ‘यसपालि असाधारण रूपमा साधारण खर्च कटौती गरौँ’, उहाँको सुझाव छ ।
बाहिरबाट आएर नेपालका व्यवसाय सञ्चालन गर्न धेरै समस्या भएकोले त्यसमा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । लगानी सम्बन्धी ऐन, गैर आवासीय नेपाली ऐन तीन महिना भित्र ल्याउनु पर्ने उहाँले प्रष्ट पार्नुभयो ।
