काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. आर्जु राणा देउवाले भ्रष्टाचारसँग जोडिएका विषयमा खुलेर छलफल गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै भ्रष्टाचारसँग जोडिएका विषय आउने तर त्यसमा खुलेर कुरा नहुने उहाँले बताउनुभयो । जुन मन्त्रालयबाट सबैभन्दा बढी बजेट जान्छ, तिनीहरुको सप्लायर्स को हुन् र कति प्रतिशतमा सप्लाई गरिरहेका छन् भन्ने कुरा स्पष्ट हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘मही माग्ने ढुङ्ग्रो लुकाउने कुरा आउँछ’, उहाँले भन्नुभयो ।
मन्त्रालय निर्णायक तहमा अहिले कोही पनि नजाने अवस्था बनेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । आफूलाई चोर लगाउँछन् भनेर उसले उसलाई देखाउने प्रचलन बढेको उहाँले बताउनुभयो ।
कामको जिम्मा लिएका निर्माण व्यवसायी काम नै नगरी बेपत्ता हुने गरेका भन्दै उहाँले आलोचना गर्नुभयो । उनीहरूले मिलेमतोमा काम नगरेको उहाँको भनाइ छ । यसको अपजस भने सांसदहरूले बोक्नु परेको उहाँले गुनासो गर्नुभयो ।
उहाँले अर्थमन्त्रीलाई महिलामैत्री बजेट बनाउन सुझाव दिनुभयो । महिला स्वास्थ्यको लागि नर्सिङ कलेज बन्द गर्नु नहुने उहाँले प्रष्ट पार्नुभयो । यसै गरी इन्डक्सन चुलो वितरण गर्ने नमुना प्रोजेक्ट बनाउन उहाँले सुझाव दिनुभयो ।
