काठमाडौं । प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले देश आजको अवस्थामा आउनुको पछाडि को को दोषी छ भन्ने कुराको गम्भीर समीक्षा हुनु पर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै यो परिस्थितिलाई सबैले मिलेर नयाँ ढङ्गले लैजानु पर्ने बताउनुभयो । ‘अब ठुल्ठुला कुरा गरेर काम छैन, हामीले ठूल्ठुला कुरा गरेर मात्रै हुँदैन, हाम्रो काँडा खुट्टामा गढेको छ, बञ्चरोले काँडा निकाल्दैन, त्यसलाई सियो नै चाहिन्छ’, उहाँले भन्नुभयो ।
सबैभन्दा प्राथमिकताको कुरा सुशासन दिन सक्नु पर्नेमा उहाँले जोड दिनुभयो । मुलुकलाई सुशासन दिन सबै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । यो कुराको समाधानको लागि सबै कठोर बन्नु पर्ने उहाँले बताउनुभयो ।
मुलुक गम्भीर अप्ठेरोमा रहेकोले उहाँले अर्थमन्त्रीलाई अनावश्यक खर्च कटौती गर्नु सुझाव दिनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकारको ठुलो आर्थिक बेरुजु, भ्रष्टाचारका मुद्दाहरू रहेका बताउँदै यस्तो व्यवस्थाको परिकल्पना गरेर संविधान नल्याएको उहाँले बताउनुभयो ।
स्थानीय सरकार प्रतिपक्ष विहीन हुँदा भ्रष्टाचार मौलाएको उहाँले बताउनुभयो । प्रतिपक्षविनाको सरकार कल्पना गर्न नसकिने उहाँको भनाइ छ ।
उहाँले सरकारलाई बजेट र कार्यक्रम ल्याउँदा अमुक खालका कार्यक्रम र बजेट नल्याउन आग्रह गर्नुभयो । किसानलाई मल दिन्छौँ भन्ने कुरा किटान गरेर बजेटमा व्यवस्था गर्न उहाँले सुझाव दिनुभयो ।
कृषिमा दिएको अनुदानमा व्यापक अनियमितता भएको उहाँले बताउनुभयो । कृषिको अनुदान कार्यकर्तालाई दिने होइन वास्तविक किसानलाई दिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसको लागि उत्पादनमा अनुदान दिनुपर्ने उहाँको सुझाव छ ।
राज्यले वातावरण बनाइदिने हो भने नेपालमा पर्यटनको क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने उहाँले बताउनुभयो । सडक, पुल लगायतका पूर्वाधार सरकारले निर्माण गराइदिए पुग्ने उहाँले बताउनुभयो । सरकार लगानी गर्नुपर्ने क्षेत्रमा लगानी गर्न गम्भीर नभएको उहाँको भनाइ छ ।
