काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् भैरवसुन्दर श्रेष्ठले नेपाली कांग्रेसका सांसद् रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद् श्रेष्ठले एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको विषयमा रमेशजंगले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयाे । उहाँले रमेशजंगकाे अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयाे ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई अध्यक्ष ओलीसँग जोडेर आइतबारको राष्ट्रिय सभा बैठकमा रमेशजंगले आपत्तिजनक टिप्पणी गर्नुभएकाे थियाे । पूर्व उपप्रधानमन्त्री तथा एमाले पार्टी सचिव टोपबहादुरलाई रमेशजंगले केपी ओलीकाे झड्केलो छोरो भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे ।
त्यसमा आपत्ति जनाउँदै श्रेष्ठले भन्नुभयाे - 'नेपाली कांग्रेसका दलका नेता रमेशजंग रायमाझीले अभिव्यक्ति राख्ने शिलशिलामा जुन खालका शब्द प्रयोग गर्नुभएको छ, त्यस शब्दप्रति हामी दुःख व्यक्त गर्न चाहान्छौं, त्यसप्रछि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, पूर्व उपप्रधानमन्त्री नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको सन्दर्भमा हाम्रो पार्टी अध्यक्षलाई जाडेर दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनको निम्ति माग गर्न चाहान्छु ।'
एमालेले विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त अभिव्यक्ति पुनः सुन्ने र नियमावली अनुसार हटाउनुपर्ने भए सोही अनुसार निर्णय लिने आश्वासन दिनुभएकाे थियाे । त्यसपछि बैठकको काम कारबाही अगाडि बढेको थियाे ।
