काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को-को हुन भन्दै प्रश्न गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सुवालले यस प्रकरणमा काे-काे मुछिएका छन् भन्ने विषयमा सदनलाई स्पष्ट पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गर्नुभयाे ।
यस प्रकरणमा प्रधानमन्त्री प्रचण्डले फिल्म देखाउने बताउनुभएकाे भन्दै उहाँले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लाे समय भइरहेका छलफल फिल्म देखाउनका लागि हाे भन्ने प्रश्न समेत गर्नुभयाे ।
'सभामुख महोदयमार्फत प्रधानमन्त्रीलाई यो संसद्मा स्पष्ट गराउनुपर्ने केही विषय राख्न चाहन्छु, नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौं ठगी गर्नेहरू को-को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?'- सांसद् सुवालकाे प्रश्न छ ।
उहाँले ख्वप विश्वविद्यालयको विधेयक दर्ता भएर सांसद्हरूलाई वितरण भइसकेर पनि अहिलेसम्म किन रोकिएको भन्दै प्रश्न पनि गर्नुभयाे ।
