काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीले लोक सेवा आयोगमा ४ लाख आवेदकको डाटा हराउनु लाजमर्दाे कुरा भएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् डाँगीले सरकारका जिम्मेवार निकायले नै गैरजिम्मेवार काम गर्दै युवाहरुलाई निरुत्साहित गरिरहेका भन्दै आपत्ति जनाउनुभयाे ।
विश्वमा प्रविधिले फड्काे मारिसक्दा पनि नेपाल सरकारले ४ लाख आवेदककाे डाटा सुरक्षित राख्न नसक्नु लाजमर्दाे भएकाे उहाँले बताउनुभयाे । '०७९ मंसिर पुस र माघमा लाेकसेवा आयाेगमा दरखास्त्र दिएका करिब ४ लाख आवेदककाे डाटा हराएकाे छ, डाटा पुन: प्राप्तिका लागि प्रयास गरेकाे २ महिना बढी भइसक्दा पनि डाटा रिकभर नभइसकेपछि लाजमर्दाे तरिकाले आयाेगले फेरि दरखास्त आव्हान गरेकाे छ, विश्वमा प्रविधिले यस्ताे फड्काे मारिसक्दा पनि हाम्राे सरकारले ४ लाख आवदेककाे डाटा समेत सुरक्षित राख्न सकिरहेकाे छैन'- डाँगीले भन्नुभयाे ।
लाेकसेवा आयाेगजस्ताे जिम्मेवार निकायले डाटा सुरक्षित गर्न नसक्नु, रिकभर गर्न नसक्नु र फेरि आएर पुन फारम भर्न लगाउनु कति हदसम्मकाे लापरवाही हाे भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे । डाटा रिकभर नभए जिम्मेवार निकायलाई कारबाही गर्न डाँडीले सरकारसँग माग गर्नुभयाे ।
स्वदेशमै भविष्य खाेजिरहेका युवाहरुकाे भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिँदै सचेतक डाँगीले भन्नुभयाे - 'नेपालका अधिकांश युवाहरु विदेशिएका छन्, अहिले स्वदेशमै भविष्य खाेजिरहेका युवालाई प्राेत्साहन गर्नुकाे सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेकाे छ यसरी युवाहरुकाे भविष्यमाथि खेलवाड नगरियाेस् ।'
लाेकसेवा आयाेगले परीक्षा लिने मिति पटक-पटक सार्ने प्रवृत्तिकाे अन्त्य गर्न पनि उहाँले माग गर्नुभयाे ।
