काठमाडाैं । नेपाली कांग्रेसका सांसद् तेजुलाल चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही ल्याउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् चाैधरीले यो प्रकरणको निष्पक्ष छानबिन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयाे ।
यस प्रकरणमा संलग्न गिरोहलाई बचाउन लागि चलखेल भइरहेको भन्दै उहाँले देशमा शान्ति सुरक्षा कायम राख्ने गृह मन्त्रालय नै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रकरणको ठूलो काण्डमा मुछिएकाे बताउनुभयाे ।
'गृह मन्त्रालय जसले देशमा शान्ति सुरक्षा राख्दछ, त्यसको अस्तित्व हेर्दाखेरी भुटानी शरणार्थी बनाएर सो प्रकरणको ठूलो काण्ड भएको छ, त्यही मन्त्रालय अन्तरगत ठूल्ठूला काण्ड हुँदाहुँदै यो काण्ड पनि आएको छ, म के आग्रह गर्न चाहन्छु भने यो ठगी प्रकरणलाई यो गिरोहलाई बचाउनका लागि जुन किसिमको अहिले चलखेल चलिराखेको छ, त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्न चाहन्छु, यसमा यो वा त्यो यो समय र त्यो समय नभनिकन निष्पक्षरूपमा छानबिन गरियोस् र दोषीलाई कारबाही गरियोस्'- चाैधरीले भन्नुभयाे ।
