काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सरकारकाे ध्यान केन्द्रित भइरहेकाे बताउनुभएकाे छ
राष्ट्रिय सभामा आर्थिक वर्ष ०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिकाे छलफलमा सांसद्ले उठाएएका जिज्ञासाको जवाफ दिँदै उहाँले देशकाे आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभयाे ।
अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चको प्रभाव बढाउनुपर्ने उहाँले बताउनुभयाे । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता पनि अर्थमन्त्री महतले जनाउनुभयाे ।
विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको भन्दै उहाँले बजेटका लागि स्राेत जुटाउनै चुनौती रहेकाे बताउनुभयाे । अर्थमन्त्री महतले भन्नुभयाे - 'आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुनेछ, वैदेशिक सहायता कम भएको सन्दर्भमा स्रोत जुटाउने सबै उपाय अवलम्बन गरिनेछ ।' यद्यपि वैदेशिक सहायता, राजस्व र आन्तरिक ऋण नै बजेटको स्रोत हुने उहाँले बताउनुभयाे ।
अहिले ब्याजदर बढेकाले लागत बढेको र यसले गर्दा लगानी कम भएकोबारे सरकार जानकार रहेको बताउँदै मन्त्री महतले भन्नुभयो - 'मौद्रिक नीतिमार्फत ब्याजदर कम हुने व्यवस्था गरिनेछ, यसले राजस्व बढाउन र अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने तथा सकारात्मक प्रभाव पर्नेछ ।'
राजस्व चुहावट कम गर्न ध्यान दिने, राष्ट्र बैंकमार्फत ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने, रोजागारीका अवसर सिर्जना गर्ने गरी बजेट तय गरिने पनि उहाँले बताउनुभयाे ।
