काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता पुरानो र कर्मकाण्डी मात्रै भएको बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिकाे छलफलमा बाेल्दै अध्यक्ष लिङ्देनले देशकाे अहिलेकाे आर्थिक संकटलाई समाधानका लागि प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकतामा नसमेटिएकाे बताउनुभयाे ।
आर्थिक वृद्धिदर ८ प्रतिशत हुन्छ भनिएकाेमा मुस्किलले २ प्रतिशत हुने देखिएकाे, निर्माण व्यवसायीलाई ८० अर्ब बढी मुक्तानी गर्न बाँकी रहेकाे, राजश्वले चालु खर्च पनि धान्न नसकेकाे, भर्खरै ३० अर्ब आन्तरिक ऋण उठाएकाे अवस्था रहेकाे भन्दै उहाँले यस्ताे बेलामा सरकारले बजेटमा राख्ने प्राथमिकता र सिद्धान्त कर्मकाण्डी भएकाे बताउनुभयाे ।
'सरकारले बजेटमा ल्याउने प्राथमिकता र सिद्धान्तहरु कर्मकाण्डी छन्, नियमित जस्तो छन्, अघिल्लो दिनहरुमा कसरी आउँथ्यो त्यसरी नै आएका छन्, सबै विषय गर्न खोजिएको छ, गर्ने भनिएको छ, तर अर्थमन्त्रीज्यू छातीमा हात राखेर भन्नुस् यही सिद्धान्त र यही प्राथमिकताले, यही आर्थिक नीतिले, अहिलेकाे आर्थिक संकटलाई सामना गर्न सकिन्छ ? यो अत्ति फितलो भयो, नयाँ केही आएन, आशा जगाउने खालकाे भएन'- अध्यक्ष लिङ्देनले भन्नुभयाे ।
देशकाे अर्थतन्त्र माथि उठाउनका लागि आफूहरु सरकारलाई सहयाेग गर्न तयार रहेकाे भन्दै उहाँले आर्थिक संकट समाधान हुनेगरी बजेट ल्याउन सुझाव दिनुभयाे ।
निजी क्षेत्र निराश रहेकाे अवस्था रहेकाे भन्दै अध्यक्ष लिङ्देनले सार्वजनिक खरिद एेन संशाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । भ्रष्टाचारमा निर्मम हुन्छाैं र भ्रष्टाचारीलाई कुनै पनि हालतमा छुट दिँदैनाैं भन्ने प्रतिबद्धता सरकारले जनाउन सक्नुपर्ने उहाँले बताउनुभयाे ।
उद्याेग व्यवसायीमा आशा जगाउने कार्यक्रम ल्याउन, स्वदेशी लगानीलाई प्राथमिकता दिन अध्यक्ष लिङ्देनले सरकारलाई सुझाव दिनुभयाे ।कर तिर्न घुस खुवाउनुपर्ने स्थितिको अन्त्य गर्न, बजेटमार्फत् स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न, बुढीगण्डकी लगायत आयाेजना स्वदेशी लगानीमै सम्पन्न गर्ने वातावरण बनाउन पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
ठूलो संख्याको जनप्रनितिधिको जनसंख्या कटौती गर्नुपर्ने भन्दै अध्यक्ष लिङ्देनले प्रदेश खारेज नगरेमा देशकाे अर्थतन्त्र ठिक ठाउँमा नआउने पनि बताउनुभयाे ।
