काठमाडौं । प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले देशको आर्थिक अवस्था सुधारको लागि कृषि र त्यसमा आधारित उद्योगलाई प्राथमिकता दिनु पर्ने बताउनुभएको छ ।
मंगलबार सरकारले प्रस्तुत गरेका आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै यादवले उत्पादनमूलक उद्योगहरूलाई सबलीकरण, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरे मात्रै अहिलेको आर्थिक संकटबाट पार गर्न सकिने बताउनुभयो । यसको लागि आवश्यक श्रोत व्यवस्थापन सहित उत्पादनमा जोड दिनु पर्ने उहाँले बताउनुभयो ।
हिमाली क्षेत्रका धार्मिक स्थलमा योग, व्यायाम लगायत संरचना बनाइ पर्यटन प्रवर्धन गर्न सकिने पनि उहाँले सुझाव दिनुभयो । नेपालमा पर्यटन क्षेत्र आर्थिक विकासको महत्पूर्ण सम्भावना रहेको क्षेत्र भएको उहाँले बताउनुभयो ।
विदेशमा उपचारको लागि जाने कसैलाई पनि उपचार खर्च नदिने गरी ऐन बनेको भए पनि त्यसको कार्यान्वयन नहुनु दुःखको कुरा भएको उहाँले बताउनुभयो । गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवालाई देशमा नै व्यवस्था गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
आर्थिक संकट समाधानको लागि सबैभन्दा सजिलो र छिटो उपाय भनेको कृषि उत्पादनमा वृद्धि गर्ने भएको उहाँले प्रष्ट पार्नुभयो । कृषिमा गरेको लगानीले तीन, चार महिनामा नै नतिजा दिने उहाँले प्रष्ट पार्नुभयो ।
यस बाहेक उत्पादन गरिरहेको उद्योगलाई सबलीकरण गर्न सक्यो भने त्यसले तुरुन्तै आर्थिक लाभ दिने उहाँले बताउनुभयो । ‘जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
विभिन्न कालखण्डमा अत्यधिक मुनाफामा रहेका उद्योग, कलकारखाना निजीकरण र उदारीकरणका नाममा कौडीका मूल्यमा बेचिएको भन्दै उहाँले आलोचना गर्नुभयो । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखानालगायत कारखाना पुनः सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । ‘त्यो सञ्चालनको नीति निर्माण गरेर अघि बढ्ने हो भने, त्यसले उत्पादन वृद्धि गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।
