काठमाडौं । बुधबारको प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै स्थगित भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरुले बेल घेरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो । आकस्मिक समयको मागसहित राप्रपा सांसदहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
बैठक सुरु हुनासाथ राप्रपाका प्रतिनिधि सभामा संसदीय दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागे गर्नुभएको थियो । तर, सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको भन्दै समय दिन मान्नु भएन ।
त्यसपछि उहाँले बैठक अघि बढाउन खोज्दा राप्रपाका सांसदहरूले रोष्टम घेराउ गरेर अवरोध गरेका थिए । अवरोध पछि सभामुखले बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
