काठमाडाैं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'माननीय सदस्यहरु अहिले उठेका विषयमा नेपाल सरकारकाे गम्भीर ध्यानाकर्षण गराउँछु ।'
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै समय मागेर बाेल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यस प्रकरणकाे छानबिन र कारबाहीमा भइरहेकाे प्रगतिबारे चाँडो भन्दा चाँडो सदनमा जानकारी गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुखसमक्ष माग गर्नुभएकाे थियाे ।
नेकपा एमालेका सांसद् भीमप्रसाद आचार्यले पनि यस प्रकरणमा उठेका प्रश्नकाे जवाफ सदनमार्फत दिन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।
त्यसअघि बिहान बसेको बैठक राप्रपाका सांसद्को अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । बैठक सुरु हुनेबित्तिकै राप्रपा अध्यक्ष लिङ्देलले बोल्नका लागि समय माग गर्दा सभामुख घिमिरेले समय नमिल्ने भन्दै बैठक अगाडि बढाउनुभएकाे थियाे । त्यसपछि राप्रपाका सांसद्ले राेस्टम घेरेका थिए ।
