काठमाडाैं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणकाे छानबिनमा सहयाेग गर्न एमाले तयार रहेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिकाे छलफलमा बाेल्दै सांसद् गुरुङले यस प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न एमालेकाे सहयाेग रहने बताउनुभयाे ।
भ्रष्टाचारका मुद्दाहरुको अनुसन्धान गर्ने सरकारको कामा आफ्नो पार्टीको समर्थन रहने उहाँले बताउनुभयाे । सांसद् गुरुङले भन्नुभयाे - 'सरकारले जुन खालकाे छानबिन र अनुसन्धान सुरु गरेकाे छ, विधि र कानुनकाे शासन मान्ने तथा भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने अभियानमा प्रतिबद्ध भएकाे पार्टीकाे सांसद्काे हैसियत भन्छु, याे छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरीकन, दोषीहरु कोही पनि नछुटुन्, निर्दोष व्यक्ति कोही पनि नपरुन् भनी लागोस्, एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौं ।'
यस प्रकरणमा नाम जाेडिएका पार्टीका सचिव टाेपबहादुर रायमाझीलाई सरकारकाे अनुसन्धान र छानबिनमा सहयाे गर्न पुग्नुस् भनेर सचिवालय बैठकबाट निर्देश गरेकाे पनि सांसद् गुरुङले सदनलाई जानकारी गराउनुभयाे । मन्दीमा फसिरहेको अर्थतन्त्रलाई उकास्ने प्राथमिकता र सिद्धान्त आउनुपर्नेमा भन्दै उहाँले नीतिगत, संरचनागत र सिद्धान्ततः प्रष्ट हुनेगरी प्राथमिकता नआएको बताउनुभयाे ।
फजुल खर्च कम गर्न, संघीय तथा प्रदेश सरकारका मन्त्रालयका संख्या घटाउन र केन्द्रका विभागलाई पनि घटाउन सुझाव सांसद् गुरुङले सुझाव दिनुभयाे । पुँजीगत खर्च अभिवृद्धिका लागि के-के गर्नुपर्ने हाे त्यसकाे प्रस्ताव आउनुपर्ने उहाँले बताउनुभयाे ।
