काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै दलको भए पनि कारबाही हुनुपर्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिकाे छलफलमा बाेल्दै सांसद् थापाले यस प्रकरणमा जाेडिएका दाेषीलाई कारबाही हुनुपर्ने र निर्दाेष फस्न नहुने बताउनुभयाे ।
यस प्रकरणलाई अगाडि बढाएकाे भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई दिनुभयाे ।
शीर्ष नेताहरुकाे भेटघाट, दबाब, प्रभाव र बजार हल्लाले अनुसन्धान प्रभावित हुन नहुनेतर्फ सांसद् थापाले सरकारलाई सचेत गराउनुभयाे । 'यसमा संलग्न जुनसुकै दलको होस् जुनसुकै ओहोदाको होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्ला, भेटघाट र दबाबले अनुसन्धानले प्रभावित नहोस्, मेराे आग्रह छ - अनुसन्धान फ्री र फेयर होस्, निर्दोष कोही पनि नपरोस् तर, दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्'- उहाँले भन्नुभयाे ।
सरकारले दह्रोसँग खुट्टा टेक्यो भने प्रधानमन्त्रीप्रचण्डले भने अनुसारको फिल्म हाउसफुल हुने टिप्पणी समेत सांसद् थापाले गर्नुभयाे । 'यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने, यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, प्रधानमन्त्रीज्यू तपाइँको फिल्म चल्छ, हाउसफुल हुन्छ नत्र हल खाली हुन्छ, सबैले हेरेको छ, नागरिकलाई फ्री र फेयरमा विश्वास लाग्नुपर्छ'-उहाँले भन्नुभयाे ।
