काठमाडौं । नेपाली कांग्रेसका सांसद् सञ्जय गौतम ३ दिनदेखि बर्दियाको जब्दी पुलमुनी आमरण अनसनमा बसेकाे विषयले सदनमा प्रवेश पाएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै कांग्रेसकै सांसद् दीपक गिरीले साे विषय जानकारी गराउनुभएकाे हाे । पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नटेरेपछि आफ्नाे क्षेत्र र मुलुकका काम गराउन सांसद् गाैतम अनसन बस्नुपर्ने अवस्था आएकाे उहाँले बताउनुभयाे ।
सांसद् गौतम १५ सुत्रीय मात्र राखेर जब्दी पुलमुनी आमरण अनसनमा बसेको जानकारी गराउँदै सांसद् गिरीले आफ्नाे क्षेत्रका कामका लागि अरु सांसद्हरु पनि अनसन बस्नुपर्ने अवस्था रहेकाे समेत बताउनुभयाे । 'अब विकासको काम गराउन पनि आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ, यहाँ नजिकै नगरकोटको सडक कहिल्यै बन्दैन, पप्पु कन्स्ट्रक्सनले ७ वर्षदेखि थालेको जब्दी पुल बन्दैन, उदयपुरको त्रियुगा पुल बन्दैन, संखुवासभाको अरुण पुल बन्दैन, दाङकै कोथरी पुल बन्दैन, अब सुरुआत भयो आमरण अनसन बस्नुपर्ने तर सरकारले आँखा लगाउँदैन'- उहाँले भन्नुभयाे ।
विगतमा आमरण अनशन बसेकाे घटना रहेका स्मरण गराउँदै उहाँले अब गाैतम जस्तै अरु सांसद्हरु पनि आमरण अनशन बस्नुपर्ने अवस्था नआहाेस् भन्ने कामना समेत गर्नुभयाे । सांसद्हरुले आफ्नाे क्षेत्रका विषय उठान गरेपनि सरकारले बेवास्ता गरेकाे भन्दै सांसद् गिरीले आपत्ति जनाउनुभयाे ।
