काठमाडौं । प्रतिनिधि सभा सदस्य आर्जु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफू कतै नभागेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै राणाले आफू प्रतिनिधि सभा बैठकमा सशरीर उपस्थिति भएको बताउनुभयो । ‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनु भएकै होलो, म फिजिकल फर्ममा यहाँ छु’, उहाँले भन्नुभयो ।
आफ्नो विरुद्ध गलत प्रचार गरिएको भन्दै राणाले देशमा फेग मिडिया बढेको बताउनुभयो । त्यस्ता मिडियाको अनुगमन गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
आफ्नो नाम लिएर फेग अडियो बनाइएकोले परीक्षणको लागि प्रहरीमा दिन जाँदा त्यो दर्ता गर्न पनि गाह्रो मानिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘साथीहरूले विश्वास पनि गर्नुहुन्न होला, सत्ता पक्षको यत्रो ठुलो मान्छेको श्रीमती भनेर, तीन घण्टा लाग्यो, त्यो दर्ता गराउन’, राणाले भन्नुभयो ।
फेग अडियो आफूको मात्रै होइन अरूको पनि बनेको भए पनि आफ्नो मात्रै आलोचना भएको भन्दै राणाले आपत्ति जनाउनुभयो । दर्ता भएको ६ दिनसम्म पनि त्यसको रिपोर्ट नदिएको भन्दै उहाँले प्रहरीको पनि आलोचना गर्नुभयो ।
सो अडियो प्रकरणमा आफ्नो चरित्र हत्या गर्ने काम भएको राणाले बताउनुभयो । महिला राजनीतिमा आउँदा सबै कुरा बेहोर्न सक्नु पर्ने र आफू त्यो सबै बेहोर्न सक्ने महिला भएको उहाँले दाबी गर्नुभयो ।
यस्ता खालका कदमले महिलालाई निरुत्साहित गर्ने र आत्महत्या गर्ने अवस्थासम्म पुर्याउने राणाको भनाई छ । मिडियाले धेरै महिलाको हत्या गरेको भए पनि आफू त्यस्तो महिला नभएको उहाँले दाबी गर्नुभयो । मिडियाले आफ्नो चरित्रको बलात्कार गरेको राणाले बताउनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालको बदनाम भएको उहाँले बताउनुभयो । यस विषयमा सबै दल गम्भीर हनु पर्ने उहाँको सुझाव छ ।
