काठमाडाैं । 'संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति' गठन गरिएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको हाे ।
माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले 'संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्' भनी पेस गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेकाे हाे ।
सांसद् पौडेलले गर्नुभएको सो प्रस्तावलाई सांसदद्वय ईश्वरी न्यौपाने र योगेश भट्टराईले समर्थन गर्नुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
१६ सदस्यीय साे समितिले ७ दिनभित्र नियमावलीको मस्यौदा गर्नुपर्नेछ । समितिले मस्यौदा तयार पार्नका लागि विज्ञहरुको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ । समितिमा अनिता देवी, जीवन परियार, ध्रुबबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईँ, सुवाषचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहनु भएको छ ।
बैठकले २०६४ सालको संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बस्नेतको ७८ वर्षको उमेरमा वैशाख २९ गते निधन भएको थियाे ।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ४ गते ११ बजे बस्नेछ । साे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नाेत्तर कार्यक्रम हुनेछ ।
