काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणकाे छानबिनमा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् झाले यस प्रकरणमा संलग्न व्यक्तिहरुको नाम स्टलमेन्ट (किस्ता) मा ल्याएर उनीहरुलाई प्रमाणहरु नष्ट गर्ने समय दिइएको बताउनुभयाे । 'हाम्राे देशमा ठूलाे अपराध देशद्राेही र भ्रष्टाचारकाे मुद्दा चर्चामा छ, यसमा संलग्नहरुको स्टलमेन्टमा नाम आउँछ, उनीहरुलाई आफ्नो मोबाइल फर्म्याट गर्ने र लुक्ने, समाचारहरु सुल्झाउने र आफूले योजनावद्ध रुपमा सार्वजनिक हुने मौकाहरु दिइँदैछ, केही त फरार पनि हुँदैछन् भन्ने पनि सुनिएको छ, यस्तो किन हुन्छ ?' - उहाँले प्रश्न गर्नुभयाे ।
यस प्रकरणकाे छानबिन अगाडि बढिरहेका बेला तीन दलका शीर्ष नेताबीचको भेटवार्ताले आशंका सिर्जना भएको पनि सांसद् झाले बताउनुभयाे । देशमा कुनै विपद् आउँदा वा अन्तर्राष्ट्रिय विषय हुँदा त्यति नभेट्ने नेताहरु अहिले तारन्ततार भेट्नुले आशंका पैदा भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'तीन दलका शीर्ष नेताहरु पटक-पटक भेटिरहेको हामीहरु सुन्छौं, देशमा आपत विपद परेका बेला त नेताहरु यति तारन्तर भेटिरहेकाे समाचार त सुन्दैन्थ्याैं हामी, अहिले किन उहाँहरुकाे यसमा आकर्षण देखिएको हो ?'
प्रकरणमा संलग्नहरुकाे नाम किस्ता किस्तामा नल्याइ प्याकेजमा ल्याएर कारबाही गर्न सांसद् झाले माग गर्नुभयाे । यसाे गर्दा अनुसन्धान सफल हुने बाटाे जाने उहाँले बताउनुभयाे । 'यसमा सम्भावित व्यक्तिहरु भाग्न पाउने माैका पनि नपाउन्, आशंकाकाे घेरामा रहेका व्यक्तिहरुकाे नाम स्टलमेन्टमा पनि बाहिर नआओस्, यसलाई एउटा प्याकेजमै बाहिर लिएर आएर शंकास्पद सबैलाई घेरामा राखेर यसकाे उपचार गरियाेस्, अन्यथा हामी अरु देशमा जस्तो लामाे आन्दाेलनकाे तयारी गर्दैछाैं ? त्यसका लागि राज्य तयार छ भने, त्याे आन्दाेलनका लागि हामी तयार छाैं, यदि हाम्रो आवाज सुनिदैन भने, तसर्थ यसलाई गम्भिरतापूर्वक लिइयाेस्'- झाले चेतावनी दिनुभयाे ।
