काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणहरुको अनुसन्धान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दै भ्रष्टाचारका सबै प्रकरणहरुको अनुसन्धान गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै उहाँले यस प्रकरणमा मात्रै नभई भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुने बताउनुभयाे ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय निकै कम भएकाले प्रहरी-प्रशासनले तीव्र रुपमा काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयाे । उहाँले प्रहरीलाई राजनीतिक दबाब वा अवाञ्छनिय प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न निर्देशन दिएको बताउनुभयो । निर्दोष नफस्ने र दोषी नछुट्ने गरी प्रहरीले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको मन्त्री श्रेष्ठले दाबी गर्नुभयाे ।
प्रमाणका आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाले अनुसन्धानले पुष्टि गरेको आधारमा कारबाहीको दायरा बढाउने सरकारको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।
संसद् र सडकबाट भएको भ्रष्टाचार विरोधी कदमको समर्थन रहेको भन्दै मन्त्री श्रेष्ठले सरकार कुनै दबाबको अगाडि नझुक्ने स्पष्ट पार्नुभयो ।भ्रष्टाचार र कमिशनको जालोले देशलाइ बर्वाद पारेको भन्दै उहाँले राज्यका सबै निकायहरुले यसलाई केन्द्रमा राखेर समाधान गर्नुपर्ने पनि बताउनुभयो ।
बैठकमा कांग्रेस सांसद विश्वप्रकाश शर्माले दोषी नछुट्ने र निर्दोष नफस्ने विषयमा सवै सजक रहेको भन्दै सरकारले गरेको अनुसन्धानमा सवैको साथ रहेको बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले समितिको काम कारवाहीलाई प्रभावकारी बनाउनुपर्ने र दिएका निर्देशनका साथै सुझावहरुलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले समितिले दिएका सुझावहरुलाई सरकारले गम्भीर रुपमा लिएर कार्यान्वयन गर्ने प्रतिवबद्धता जनाउनुभएको थियो ।
