काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग गर्नुभएको छ ।
संघीय संसद् अन्तरगत अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मंगलबार बोल्दै नेपालले विगतदेखि आफूले सो विमानस्थललाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरेको भए पनि सोचे जस्तो काम नभएको बताउनुभयो । आउने आर्थिक वर्षको बजेटमा सो विमानस्थललाई प्राथमिकतामा राख्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
नेपालले अर्थमन्त्रीले आउने वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सो विमानस्थलको नाम नै नराखेको प्रति गुनासो गर्नुभयो । सो विमानस्थल निर्माणको काम अघि बढाउन आफूले निक्कै प्रयत्न गरेको नेपालले स्मरण गराउनुभयो । सो विमानस्थलको महत्त्व अर्थमन्त्रीले बुझ्न नसकेको नेपालले गुनासो गर्नुभयो ।
नागरिक उड्डयन र पर्यटनको समेत महत्त्व राख्ने सो विमानस्थलको काम छिटो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शंका पनि, डर पनि लाग्न थालेको छ’, नेपालले भन्नुभयो ।
नेपालले सो विमानस्थल मुलुकको आर्थिक परिवर्तनसँग जोडिएको विमानस्थल भएको दाबी गर्नुभयो । त्यसैले सो मुद्दा उठाउन उहाँले संसदीय समितिलाई समेत आग्रह गर्नुभयो ।
