काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बेला सीमा समस्या लगायत नेपाली भूमि मिचिएको विषयमा समेत छलफल हुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले उठाउनुभएको प्रश्नको जवाफ दिँदै दाहालले भारत भ्रमणको बेला सबै विषयहरू– सीमा समस्या, नेपालको भूमि लगायतको विषयमा कुरा हुने बताउनुभयो । ‘हामी हाम्रो एकइञ्च जमिन पनि छोड्न सक्दैनौँ, हामीलाई छिमेकीको एक इञ्च जमिन पनि चाहिँदैन’, उहाँले भन्नुभयो ।
नेपालको राष्ट्रिय हित विपरीत कुनै किसिमको सम्झौता वा भ्रम पर्न दिने काम नगरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अर्का सांसद दिलेन्द्र बडुले कालापानी–लिपुलेक– र लिम्पियाधुराको विषय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा रहेको छ कि छैन भन्ने प्रश्नको जवाफमा उहाँले भारत भ्रमणमा सबै विषयमा कुरा हुने बताउनुभयो । नेपालको सबै देशसँगको सम्बन्ध पञ्चशीलताको सिद्धान्तको आधारमा हुने उहाँले प्रस्ट्याउनुभयो ।
