काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन बुझ्ने विषय भारत भ्रमणपछि मात्रै भन्न सकिने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमाले सांसद् रघुजी पन्तले साेध्नुभएकाे प्रश्नकाे उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले ईपीजी प्रतिवेदन बुझ्नेबारे भारतको भ्रमणपछि मात्र जानकारी दिन सकिने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'बुझ्ने-नबुझ्ने कुरा, भारत भ्रमणमा गएर कुरा गरेपछिकाे परिस्थितिमा मात्र भन्न सकिन्छ, म विश्वास दिलाउन चाहान्छु नेपालकाे राष्ट्रिय हित, अखण्डता र स्वाधिनतामा कुनै किसिमकाे सम्झाैता या भ्रम पर्न दिइनेछैन ।'
कूटनीतिम माध्यमबाट सीमा समस्या समाधान गर्ने सरकारकाे नीति रहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालको एक इञ्च भूमि अरुलाई पनि नदिने र अरुको एक इञ्च भूमि पनि नलिने बताउनुभयाे । यसका लागि कूटनीतिक पहल भइरहेकाे पनि उहाँले बताउनुभयाे ।
साेही खालकाे प्रश्न कांग्रेस दिलेन्द्र बडूले पनि साेध्नुभएकाे थियाे । जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय हित विपरीत कुनै कदम नचाल्ने प्रतिबद्धता जनाउनुभयाे । आफ्नाे निकट भारत भ्रमण नेपालकाे बृहतर हित अभिवृद्धि गर्नमा केन्द्रित हुने बताउनुभयाे ।
