काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन्मकैदकाे सजाय भाेगिरहेका जनमुक्ति पार्टीका नेता रेशम चाैधरीलाई जेलमुक्त गर्ने प्रयास भइरहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकका जनमत पार्टीका सांसद् गंगाराम चाैधरीले साेधेका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यसअघि पनि अध्यादेश ल्याएर चाैधरीलाई छुटाउन खाेजिएकाे बताउनुभयाे ।
उहाँले सर्वाेच्च अदालतकाे आदेश आएसँगै याे विषय कसरी समाधान गर्ने भन्नेमा आफूहरु गम्भीर रहेकाे बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'हामीले यसअगाडि पनि अध्यादेश ल्याएर भएपनि उहाँलाई छुटाउने प्रयास गरकै हाे अदालतबाट जे फैसला भएपनि छिटाे फैसला हाेस् भनेर सबैतिर आवाज उठाएकै हाे र अहिले टुंगिएकाे छ, अब याे विषयलाई कसरी समाधान गर्ने भन्नेमा हामी निक्कै गम्भीर छाैं, मलाई विश्वास छ यसकाे छिट्टै टुंगाेमा हामी पुग्नेछाैं ।'
राजनीतिक आन्दोलनका कारण बन्दी जीवन बिताइरहेका बन्दीहरुकाे सम्बन्धमा संसद्मा विधेयक पेस भइसकेकाे भन्दै उहाँले यो विधेयक निष्कर्षमा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे । थारु मात्र नभएर, मधेश लगायत अन्य आन्दाेलनसँग सम्बन्धित बन्दीहरुकाे रिहाइकाे विषयमा पनि साे विधेयकमा रहेकाे भन्दै उहाँले साे विधेयक चाँडै पास गरिने बताउनुभयाे ।
सरकार लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेकाे भन्दै उहाँले त्यसमा रहेका व्यवहारिक र कानुनी जटिलता फुकाएर सार्वजनिक गर्न सकिने स्पष्ट पार्नुभयाे ।
