काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले भोलि अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने जानकारी दिनुभयाे ।
उहाँले राष्ट्रपति कार्यालयबाट पठाएकाे सो व्यहोराको पत्र पढेर सुनाउनुभएकाे हाे । सभामुख घिमिरेले भोलि दिउँसो ३:४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिनुभयाे ।
आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८-७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिमको 'नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८-७९' पेस गर्नुभएकाे हाे ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डले सांसद्हरुले साेधेका प्रश्नकाे उत्तर दिनुभएकाे थियाे । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ५ गते साँझ ६ बजे बस्नेछ ।
