काठमाडाैं । नेकपा एमालेका सचिव तथा सांसद् योगेश भट्टराईले प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसद्हरुको प्रत्यक्ष प्रश्नोत्तर कर्मकाण्डी जस्तो भएको बताउनुभएकाे छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठक संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले प्रश्नोत्तर कर्मकाण्डी मात्रै भएकाे बताउनुभयाे ।
उहाँले प्रश्नाेत्तर कार्यक्रम तैंले सोधे जस्तो गर मैले भने जस्तो गर्छु भन्ने शैलीको भएको बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'प्रश्नोत्तर लाइभ जीवन्त हुनुपर्छ, माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ, त्यो भए मात्रै यो आकर्षक हुन्छ, नत्र यो कर्मकाण्डी जस्तो भयो, प्रधानमन्त्रीले केही तथ्य सही लिएर आउनुभयो, केही गलत तथ्यहरु लिएर आउनुभयो, उहाँले कर्मकाण्डी कामलाई पूरा गर्नुभयो ।'
सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री प्रचण्डले स्पष्ट जवाफ नदिनुभएकाे समेत उहाँले बताउनुभयाे । शरणार्थी प्रकरणबारे मिडियामा आएका विभिन्न मानिसहरुलाई जोगाउने र वयान फेर्ने विषयमा मात्र प्रधानमन्त्रीले छुट्टै जवाफ दिनुपर्ने तर त्यसो नभएको सांसद् भट्टराईले बताउनुभयाे ।
