काठमाडौं । सरकारको नीति तथा कार्यक्रमअघि राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकलाई सम्बाेधन गरी सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि राष्ट्रिय सभाको बैठक बस्न लागेकाे ।
दिउँसाे १ बजे बस्ने राष्ट्रिय सभा बैठकका लागि ५ वटा सम्भावित कार्यसूची तय गरिएकाे संसद् सचिवालयले जनाएकाे छ । बैठकमा संघीय संसद्का महासचिव डा. भरतराज गाैतमले 'संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संशाेधन मस्यौदा समिति; गठन सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुनेछ ।
सांसद् गोपीबहादुर सार्की आछामीले 'संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली-२०७५ संशोधन मस्यौदा समिति'मा राष्ट्रिय सभा सदस्यहरूको मनोनयनसहित समिति गठन सबन्धी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले 'मुलुकी संहिता सबन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०' स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनकुमार बस्नेतले 'कोभिड १९ संकट व्यवस्थापन विधेयक, २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव' प्रस्तुत गर्नुहने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा सदस्य पुरुषाेत्तम बस्नेतकाे निधनमा शाेक प्रस्ताव पेस गर्नुहुनेछ ।
