काठमाडाैं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकले साे अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेकाे हाे । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साे प्रस्ताव निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
वैशाख २४ गते प्रतिनिधि सभामा पेस भएकाे साे अध्यादेश वैशाख २७ गते बसेकाे प्रतिनिधि सभा बैठकले स्वीकृत गरेकाे थियाे ।
मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि सरकारले साे विधेयक ल्याएकाे हाे । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २० गते जारी गर्नुभएकाे थियाे ।
बैठकले सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको 'कोभिड-१९ संकट व्यवस्थापन विधेयक, २०७८' फिर्ता लिएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साे प्रस्ताव निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे । प्रस्ताव स्वीकृत भएसँगै त्यससम्बन्धी प्रतिवेदन सभामा पेस गर्न विधायन व्यवस्थापन समितिलाई उहाँले निर्देशन दिनुभयाे ।
बैठकले संविधानसभा सदस्य पुरुषाेत्तम बस्नेतकाे निधनमा शाेक प्रस्ताव पारित गरेकाे छ ।
