काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले देशकाे अर्थतन्त्रमा छाेटाे समयमै लयमा फर्किएकाे बताउनुभएकाे छ ।
शुक्रबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमै आर्थिक परिसुचकमा सुधार हुँदै गएको बताउनुभयाे ।
सरकारको कदमले सबै क्षेत्रमा सकारात्मक प्रभाव परेकाे बताउँदै उहाँले भन्नुभयाे - 'याे सरकार गठन भएपछि सबै क्षेत्रमा सकारात्मक प्रभाव देखा परेकाे छ, अर्थतन्त्रका सूचक सुधार हुँदै गइरहेका छन्, अर्थतन्त्र लयमा फर्केको छ ।'
विदेशी मुद्रा सञ्चिती बढ्दै गएको, बैंक व्याजदर घट्न थालेको,विदेशमा रहेका नेपाली सामाजिक सुरक्षा कोषामा आबद्ध हुने प्रक्रिया सुरु भएकाे र राज्य र गणतन्त्रप्रति नागरिकको भरोसा बढेको पनि राष्ट्रपति पाैडेलले बताउनुभयाे ।
उहाँले राष्ट्रिय पुँजी पलायनलाई कडाइसाथ नियन्त्रण गरिने बताउनुभयाे । पुँजीगत खर्च वृद्धि गरिने र सरकारी खर्चमा मितव्ययिता अपनाइने पनि राष्ट्रपति पाैडेलले बताउनुभयाे ।
सार्वजनिक खरिद कानुनमा सममायिक सुधार गरिने र वित्तीय संघीयताकाे प्रभावकारी कार्यान्वयन गरिने पनि उहाँले बताउनुभयाे । तीनै तहका सरकारको अपनत्व कायम गरिने पनि उहाँले बताउनुभयाे ।
