काठमाडौं । सरकारले उच्च पदस्थहरू व्यक्तिहरुकाे सम्पत्ति छानबिन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएकाे आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख छ ।
भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र संरचनामा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप कडाइका साथ कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
अनियमितता, भ्रष्टाचार, कर छली, कृत्रिम अभाव, कालोबजारी, व्यावसायिक एकाधिकार लगायतका सुशासन विरोधी क्रियाकलापमा जनताका गुनासोलाई तत्काल सम्बोधन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी विधेयक संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ तथा राष्ट्रिय सतर्कता केन्द्रसम्बन्धी विधेयक संसद्को यसै अधिवेशनमा पेस गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी पेस भएको विधेयकलाई चालु अधिवेशनबाट पारित गर्ने पनि सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ ।
