काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
राष्ट्रिय सभाको दोस्रो बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा सांसद्हरुले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमार्फत सांसद विकास कोषमा रकम छुट्याउन सरकारमाथि दबाब भइरहेको विषयमा ध्यानाकर्षण गराए ।
भेटमा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै सदनको समान हैसियत भएकाले संसद् विकास कोष नराख्नुपर्ने अडानमा राष्ट्रिय सभा एकमत रहेको बताउनुभयाे । तर बजेटमा राख्ने हो भने राष्ट्रिय सभा सदस्यलाई पनि सांसद् विकास कोषको बजेट व्यवस्था हुनुपर्ने माग उहाँले गर्नुभयाे ।
नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि देशको वर्तमान अर्थ संकटका कारण सांसद् विकास कोष राख्न हुँदैन भन्ने कुरामा राष्ट्रिय सभा एकमत रहेको स्पष्ट पार्नुभयाे । दबाबका भरमा सांसद् विकास कोषमा रकम छुट्याउने भए राष्ट्रिय सभाका सदस्यलाई विभेद नगर्न उहाँले ध्यानाकर्षण गराउनुभयाे ।
भेटमा प्रधानमन्त्री प्रचण्डले सरकार पनि सांसद् विकास कोष राख्ने पक्षमा नरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'राख्नुपरेको अवस्थामा दुबै सदनलाई विभेद हुन नदिने विषयमा म सकारात्मक छु ।'
