काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा ५ दिने छलफल हुने भएकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले साे जानकारी दिनुभएकाे हाे । नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ ७ देखि ११ गतेसम्मकाे समय ताेकिएकाे बताउनुभयाे ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिनका लागि सांसद्हरूले अग्रिम सूचना दिनुपर्नेछ ।नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्न चाहने सांसद्हरूले सो को सूचना भोलि बिहान ११ बजेदेखि २ बजेसम्म संघीय संसद् सिंहदरबारमा दिसक्ने सभामुख घिमिरेले जानकारी दिनुभयाे ।
उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सम्मिलित हुने संयुक्त समिति गठनका लागि राष्ट्रिय सभाबाट अनिता देवकोटा, गंगाकुमारी बेल्बासे र भैरवबहादुर श्रेष्ठको नाम अनुमोदन भएर प्रतिनिधि सभामा आएको जानकारी दिनुभयाे ।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । बैठकले उक्त सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रपति पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वाचन गर्नुभएकाे थियाे ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहान ११ बजे बस्नेछ ।
