काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधि सभाकाे बैठकमा सम्बाेधन गर्नुहुने भएकाे छ ।
प्रतिनिधि सभाकाे बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
शनिबार बसेकाे पार्टी संसदीय दलकाे बैठकमा अध्यक्ष ओलीले आफूले आइतबार प्रतिनिधि सभामा सम्बाेधन गर्न लागेकाे जानकारी दिनुभएकाे थियाे । अध्यक्ष ओलीले नीति तथा कार्यक्रमसँगै नक्कली भुटानी शरणार्थी प्रकरणबारे कुरा राख्नुहुने बताइएकाे छ ।
संसदीय दलकाे बैठकमा उहाँले सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले देश र देशको अर्थतन्त्रकाे संकट समाधानमा केन्द्रित नभएकाे बताउनुभएकाे थियाे । विद्यार्थीले चिट चाेरेजस्ताे नीति तथा कार्यक्रम पारित हुन नदिइने भन्दै अध्यक्ष ओलीले कडा रुपमा प्रस्तुत हुन सांसद्हरुलाई निर्देशन दिनुभएकाे थियाे ।
यसअघि अध्यक्ष ओलीले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने बताउनुभएकाे थियाे । तर त्यस दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसद्काे प्रश्नोत्तर कार्यक्रम तय भएकाे र ओलीकाे स्वास्थ्य अवस्थाका कारण सम्बाेधन स्थगित भएको थियो ।
अस्वस्थ भएपछि अध्यक्ष ओली त्यस बैठकमा उपस्थित हुनुभएकाे थिएन ।
