काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न माग गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उखु किसानले अहिलेसम्म पनि बेचेको उखुको भुक्तानी नपाएको उहाँले बताउनुभयो । उखु किसानका समस्या समाधानमा ध्यान दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उखु बालीलाई नगदे बाली भनिने गरेको भए पनि सरकारले यसलाई उधारो बाली बनाएको सिंहले बताउनुभयो । किसानलाई मल, बिउ समेत दिन नसक्ने सरकारले किसानलाई उत्पादन गरेको उखुमा समेत उधारोमा अड्कलाइदिएको उहाँले गुनासो गर्नुभयो । ‘हाम्रो सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ’, उहाँले भन्नुभयो ।
आफूले लगाएको खेतीको मूल्य नपाएपछि किसानले कसरी मल बिउ किन्न सक्छन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
