काठमाडौं । प्रतिनिधि सभा सदस्य असीम शाहले नक्कली भुटानी शरणर्थी प्रकरणमा धेरै खलनायकहरूको नाम आएको भए पनि उनीहरूलाई सोधपुछ समेत नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै शाहले सो प्रकरणमा सम्पर्क विहित हुनुभएको भनिएकी कांग्रेस नेता बालकृष्ण खाँडकी पत्नी प्रतिनिधि सभा सदस्य मञ्जु खाँड प्रतिनिधि सभा बैठकमा देखिएको भए पनि प्रहरी कुनै सोधपुछ नगरेको शाहले बताउनुभयो । सो चलचित्रको पर्दामा धेरै जना खलनायकलाई नल्याई लुकाउने प्रयास गरिएको शाहले गुनासो गर्नुभयो ।
विभिन्न माध्यमबाट नाम आएका र अडियो समेत सार्वजनिक भएकालाई पनि एक पटक सोधपुछ समेत नगरेको भन्दै उहाँले असन्तोष व्यक्त गर्नुभयो । उहाँको लक्ष शेरबहादुर देउवाकी पत्नी आर्जु राणा देउवा प्रति थियो ।
शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले सो घटनाको बारेमा जेठ ४ गते खोल्ने भनेको रहस्य आजको प्रतिनिधि सभा बैठकमा खुल्छ कि खुल्दैन भन्दै प्रश्न गर्नुभयो । प्रमुख तीन पार्टी बसेर सो घटना टाकटुक मिलाएको भन्ने गन्ध देश भरी फैलिएको बताउँदै उहाँले त्यो गन्ध के हो ? भन्ने प्रश्न गर्नुभयो ।
