काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले कुनै दल वा व्यक्ति लाेकतन्त्रकाे मानक हुन नसक्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रमकाे कुनै उद्देश्य, मिसन र गन्तव्य नभएकाे बताउनुभयाे ।
उहाँले राजनीति, सामाजिक र आर्थिक आयाममा न्याय र समृद्धि लाेकतन्त्रकाे अर्थपूर्ण परिभाषा भएकाे बताउनुभयाे । काेही प्रधानमन्त्री हुनै नहुने काेही हुनुपर्ने खालकाे आग्रह लाेकतन्त्र हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'कुनै दल विशेष व्यक्ति विशेष देशकाे प्रधानमन्त्री वा कुनै पदमा हुनु जिद्धि मात्रलाई कदापी लाेकतन्त्र मान्न सकिँदैन, काेही हुन नहुने काेही हुनुपर्ने खालका आग्रह र जिद्धिहरुलाई लाेकतन्त्र भन्न सकिँदैन कुनै दल वा व्यक्ति लाेकतन्त्रकाे मानक हुन सक्दैन ।'
लाेकतन्त्र त राजनैतिक अधिकार र स्वतन्त्रकाे रक्षा तथा अर्थपूर्ण प्रयाेगले निर्धारण गर्ने र कस्ताे अभ्यास हामीले गरिराखेका छाैं त्यसले निर्धारण गर्ने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'सबैकाे समान अधिकार सबैलाई समान अवसर उत्तिकै सुरक्षा र उत्तिकै सम्मानकाे प्रत्याभूमि लाेकतन्त्रकाे परिचायक हाे, प्रस्तावित नीति तथा कार्यक्रममा लाेकतन्त्रकाे याे आत्मा छैन'
सरकारले लाेकतन्त्र, लाेकतन्त्र प्राप्तिका लागि बलिदान गर्ने शहीदलाई द्वन्द्वबाट थिलाेथिलाे दाजुभाइ दिदीबहिनीलाई आम नेपालीलाई, जनतालाई, नेपाली दिदीबहिनी दाजुभाइलाई सत्ता प्राप्त गर्ने औजार र वस्तुका रुपमा हेरेकाे कुरा नीति तथा कार्यक्रममै देखिएकाे उहाँले बताउनुभयाे ।
पदका लागि मरिहत्ते गर्नेहरुबाट लाेकतन्त्रकाे रक्षा हुन नसक्ने अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीकाे पद प्राप्तिका लागि जुनसुकै बेला जेसुकै पनि गर्न पछि नपर्नेबाट लाेकतन्त्र संरक्षणकाे अपेक्षा कसरी गर्ने ? फ्रिडम फाइटरले सिद्धान्त छाेड्दैन,बरु मृत्यु राेज्छ म यति बेला नेल्सन मण्डेलालाई सम्झन्छु ।'
माेहनचन्द्र अधिकारी र आफूलाई राैतहटकाे जंगलमा लगेर हत्या गर्ने जानकारीसहित प्रहरीकाे गाडीमा लैजाँदा पनि आफूहरु लाेकतन्त्रप्रतिकाे प्रतिबद्धताकै कारण आफूहरु कत्तिपनि विचलित नभएकाे बताउनुयाे ।
