काठमाडौं । प्रतिनिधि सभा सदस्य उर्मिला थेबेले कोभिड १९ को कारण देखाएर बन्द भएको ताप्लेजुङको ओलाङचुङगोला स्थित चिनिया नाका अझै नखुल्दा नागरिकलाई समस्या परेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थेबेले नाका नखुल्दा सीमावर्ती ओलाङचुङगोला, लेलेप, याङमा क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको बताउनुभयो । ‘कोरोनाअघि यस नाकाबाट तिब्बततर्फ चौँरी, याकलगायतका पशु चौपायादेखि गलैँचा, जडीबुटीसम्मको निर्यात हुन्थ्यो भने उताबाट खाद्यान्न, लत्ता कपडा आयात हुन्थ्यो’, थेबेले भन्नुभयो ।
ओलाङचुङगोला र याङ्मा गाउँ मात्रै नभएर आसपासका पाँच–सात हजार मानिसका लागि टिपताला नाका जीवनको आधार बनेको रहेको थेबेले बताउनुभयो । सो नखुल्दा त्यस क्षेत्रका बासिन्दाको दैनिक जीवन यापन कष्टकर बनेको उहाँले बताउनुभयो ।
सो क्षेत्रको जनप्रतिनिधिको हैसियतले ताप्लेजुङका हिमाली क्षेत्रका नागरिकको चरम आर्थिक संकटलाई निराकरण गर्न सरकारी तवरबाट चीनसँग कूटनीतिक छलफल गरी ओलाङचुङ्गाेला नाका अविलम्ब खुलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
